
नेपाली व्यवसायी संघ जापानले आउँदो आइतवार टोकियोमा मैत्रीपूर्ण बनभोज कार्यक्रम गर्ने भएको छ ।
जापानबासी नेपालीहरुबीच पारस्परिक सद्भाव, भाइचारा, सम्बन्ध र सौहार्द्रताको बिकास एवं बिस्तार गर्ने उद्देश्यले आउटडोर कार्यक्रम बनभोजको आयोजना गरिएको संघका महासचिव पुष्करजंग थापाले बताउनुभयो ।
जापानको नेपाली समुदायमा क्रियाशील संघसंस्थाहरुबीच मेलमिलाप, समन्वयात्मक एवं सकारात्मक भावनाको उजागर गर्न र आपसी भेटघाटलाई फलदायी बनाउन उक्त कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको संघका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले बताउनुभयो ।
कार्यक्रममा खानपान, मनोरञ्जन मात्र नभएर जापानको नेपाली समाजलाई अझ परिष्कृत र उन्नत कसरी बनाउन सकिन्छ भन्ने बिषयमा पनि समाजका अगुवाहरुबीच अनौपचारिक छलफल तथा बहस गरिने संघका अर्का उपाध्यक्ष सञ्जिव पोखरेल बताउनुहुन्छ ।
विशेषगरी नेपाली ब्यवसायीहरुका समस्या, चुनौती र अवका संभावनाका बारेमा पेचिलो बहसको आवश्यक रहेको भन्दै यो दिशामा संघको ध्यान केन्द्रित रहेको र कार्यक्रममा यस बिषयले पनि प्रवेश पाउने संघका कोषाध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।
यहि जुन २३ तारिख आईतवार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने सो कार्यक्रम टोकियो र खानागावा प्रिफेक्चरको सिमानामा पर्ने कावासाकी सिटीको शिन-मारुकोमा हुने सचिव बाबुराम पौडेलले बताउनुभयो ।
भेटघाट, खानपान, सांगीतिक मनोरञ्जन र समसामयिक बिषयमा अनौपचारिक छलफल समेत गरिने उक्त बनभोज कार्यक्रममा सहभागिताका लागि संघसंस्थाका जिम्मेवार अगुवा, ब्यवसायी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, कलाकार, विद्यार्थी तथा सर्बसाधारण सबैमा संघका अध्यक्ष विजय थकालीले अपिल गर्नुभएको छ ।